अर्थतन्त्र सुधार्न राज्यका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने : अर्थमन्त्री महत

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

आइविएन मिडिया रिसर्चले आज ललितपुरमा आयोजना गरेको ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए । 

अहिले पनि अर्थतन्त्रमा कोभिडको समयको प्रभाव रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता रहेको र यसका लागि राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए । “हामीले समन्वय पनि गरिरहेका छौँ । राजनीतिक दलमा पानी बाराबारको अवस्था छैन, सबैसँग कुरा हुन्छ, अर्थतन्त्रका विषयमा सबैको एउटै भूमिका हुन्छ”, अर्थमन्त्री महतले भने, “विगतमा हामीले पूँजीगत खर्च प्रभावकारीरूपमा प्रवाह गर्न सकेनौँ । आगामी दिनमा यसलाई समाधान गर्नेछौँ । सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन । अरु साधारण खर्च पुनरावलोकन गर्न सकिन्छ ।” उनले एक महिनामा नै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सबैको सल्लाह लिएर बजेट निर्माण गर्ने बताए । 

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले जिम्मेवार पदमा बस्नेले जनविश्वास जित्ने गरी संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिए । “अहिलेको समस्या पार्टी विशेषको नभएर देशकै समस्या हो । समस्या समाधानका लागि सरकार र प्रतिपक्ष मिलेर लाग्नुपर्छ”, उनले भने, “सरकारको मात्रै नियत गलत छ भनेर देखाएर हुँदैन, निजी क्षेत्रले कर्पोरेट नैतिकता कायम गर्नुपर्छ ।” उहाँले स्वदेशमै उत्पादन हुने कच्चा पदार्थलाई प्राथमिकता र संरक्षण दिनुपर्ने बताउँदै प्रतिस्पर्धा हुने हदसम्म स्वदेशी उत्पादनलाई सहुलियत दिनुपर्ने भन्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको धारणा राखे । उनले  लगानीको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति नहुँदा समस्या भएको बताउँदै आन्तरिक र बाह्य बजारमा सहजरूपमा काम गर्नसक्ने दक्ष जनशक्ति निर्माण गरिनुपर्नेमा जोड दिए । “नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैन । २५ प्रतिशत रेमिट्यान्स बढेको छ । तरलता बढेको छ । ब्याजदर घट्दो छ । सूचक सकारात्मकतिर जाँदैछ । यहाँभन्दा खराब अवस्था आउँदैन”, ढकालले भने । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यापार घाटा नौ गुणा बढी हुँदा समस्या भएको बताउँदै निर्यात प्रवर्द्धनलाई ध्यान दिनुपर्ने बताए । अर्थतन्त्र सङ्कुचनको अवस्थामा भएकाले वित्तीय अनुशासन कायम राख्दै अर्थतन्त्र प्रवर्द्धन गर्ने कुरामा ध्यान दिनुपर्ने उनको धारणा थियो ।  

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री प्रा डा रेशम थापाले अन्तरसरकारी समन्वय र सहकार्य ‘फेलियर’ हुनु नै मुख्य समस्या भएको बताउँदै उत्पादनमा वृद्धि गर्न नसक्दा खर्च बढेको र प्राज्ञिक र सञ्चार क्षेत्र चुकेको औँल्याए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २१:३५
प्रतिक्रिया दिनुहोस्