सिटीको १ खुट्टो सेमिफाइनलमा, ६ पटकको विजेता बायर्नलाई 'कमब्याक' गर्न कठिन
काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा एक खुट्टो राखेको छ ।
गएराति भएको क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखमाथि जित जित निकाल्दै सिटीले सेमिफाइनलमा एक खुट्टो राखेको हो ।
घरेलु मैदानमा सिटीलाई सानदार जित दिलाउन रोड्री, बेर्नार्डो सिल्भा र अर्लिङ हालाण्डले समान एक गोल गरे ।
खेलको २७ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
खेलको ७० औं मिनेटमा सिल्भाले सिटीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटीले ३–० को सहज जित निकाल्यो ।
यस जितले सिटीको सेमिफाइनल यात्रा सहज भएको छ । अप्रिल २० मा हुने दोस्रो लेगमा २–० ले हारे पनि सिटी सेमिफाइनलमा पुग्नेछ ।
सेमिफाइनलमा स्थान बनाउन ६ पटकको विजेता बायर्नलाई भने कम्तीमा ४–० को जित आवश्यकता देखिएको छ । लयमा रहेको सिटीविरुद्ध यो कठिन देखिन्छ ।
गएराति नै भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगिज क्लब बेन्फिकालाई २–० गोल अन्तरले हराएको छ ।
इन्टरको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक–एक गोल गरे ।
यस जितसँगै तीन पटकको विजेता इन्टरले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई पटकको विजेता बेन्फिकाले भने सेमिफाइनलमा पुग्न नतिजा उल्टाउनु पर्छ ।
दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ ।