सहिद स्मारक ए डिभिजन : मनाङ मस्र्याङ्दी विजयी, जवालाखेल र खुमलटारले अंक बाँडे
काठमाडौं –राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
शुक्रबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मनाङले फ्रेन्ड्स क्लबलाई २–० गोल अन्तरले हराएको हो । मनाङको जितमा कोफी टिमोथी कुदोले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा कोफीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा कोफीले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–० को जित दिलाए ।
जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले ६ खेलमा १४ अंक जोडेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
त्यस्तै शुक्रबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जवालाखेल युथ क्लब र एफसी खुमलटारले बराबरी खेल्दै अंक बाडेका छन् । जावलाखेल र खुमलटारले २–२ गोलको रोमान्चक बराबरी खेलेका हुन् ।
खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा अविशेक लिम्बुले गोल गर्दै खुमलटारलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ६३ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दा खुमलटार २–१ ले अघि रह्यो । तर खेलको ८६ औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई २–२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै जावलाखेलले ७ खेलमा १४ अंक जोडेको छ । खुमलटारले ७ खेलमा ७ अंक जोडेको छ ।