देवेन्द्र पौडेलले सांसदहरुलाई भने– आफू बसेको कुर्सीमा रगतको टाटो छ कि भनेर हेर्नुस्

शुक्रबार, चैत २४, २०७९

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालिन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने धारणा राखेका हुन् । उनले संक्रमणकालिन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरुलाई संस्थागत रुपमा टुंग्याउनु सबैको कर्तव्य भएको धारणा पनि राखे ।

संक्रमणकालिन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरुलाई आफू बसेको कुर्सीमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरुको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गरे ।

‘संक्रमणकालिन न्याय आज हामी सबैको निम्ति सबैभन्दा पेचिलो विषय बनेको छ । यो इतिहासको खास कालखण्डमा नेपाली जनताले गरेको आन्दोलनबाट स्थापित भएका मूल्य, मान्यताहरुको जगमा हामी अगाडी बढेका छौँ । र त्यो मुल्य, मान्यतालाई संस्थागत रुपमा टुंग्याउनु आजको हामी सबैको साझा कर्तव्य हो । केही माननीयहरुले यसप्रति विमत्ति प्रकट गरेको पनि हामीले सुन्ने गरेका छौँ । माननीय सदस्यहरुलाई मेरो अनुरोध छ, कतै तपाई बस्नुभएको कुर्सीमा प्रेस स्वतन्त्रताको निम्ति, मानव अधिकारको निम्ति, लोकतान्त्रिक प्रणाली ल्याउनको निम्ति र वाक स्वतन्त्रताको निम्ति लडेका योद्धाहरुको रगत कतै टाटो बनेर बसेको हुनसक्छ,’ नेकपा माओवादी केन्द्रका नेता समेत रहेका सांसद पौडेलले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्