फिफा वरीयताको शीषमा अर्जेन्टिना
काठमाडौं –फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना ६ वर्षपछि फिफा वरीयताको शीर्ष स्थानमा फर्किएको छ । यसअघि अर्जेन्टिना सन् २०१६ को अप्रिलदेखि सन् २०१७ को अप्रिलसम्म वरीयताको शीर्ष स्थानमा थियो ।
कतार विश्वकपपछि भएको मैत्रीपूर्ण खेलमा पानामालाई २–० र क्युराकाओलाई ७–० ले पराजित गरेपछि अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।
अर्जेन्टिना शीर्ष स्थानमा उक्लिनुअघि अहिले दुई स्थान खस्किएको ब्राजिल पहिलो स्थानमा थियो । मैत्रीपूर्ण खेलमा मोरोक्कोसँग २–१ ले पराजित भएपछि ब्राजिलको वरीयता खस्किएको हो ।
फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्स यसअघि वरीयताको तेस्रो स्थानमा थियो । तेस्रो स्थानमा ब्राजिल रहँदा चौथो स्थानमा बेल्जियम यथावत छ ।
पाँचौ स्थानमा इङ्ल्यान्ड, छैटौँ स्थानमा नेदरल्यान्ड्स, सातौँ स्थानमा क्रोएसिया, आठौँ स्थानमा इटाली, नवौँ स्थानमा पोर्चुगल र १०औँ स्थानमा स्पेन छन् ।