महासंघ प्रतिनिधिमण्डलले भेट्यो अर्थमन्त्री डा. महतलाई

आइतबार, चैत १९, २०७९

काठमाडौँ– नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । डा. महत शुुक्रवार अर्थमन्त्रीमा नियुक्त भएका थिए ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ पनि गरेका थिए ।

भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए । यसका लागि केन्द्रीय बैंक  र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको सुझाव छ ।

सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले जोड दिए । सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए । अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनले आग्रह गरे ।

 

अहिले सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने अध्यक्ष गोल्छाको सुुझाव थियो । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

नवनियुक्त अर्थमन्त्रीसँगको भेटमा अध्यक्ष गोल्छाले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुर्याउने सुझाव दिए । उनले विदेशबाट पैसा भित्र्याउनका लागि दाताहरुसँग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गरे ।

निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिएका थिए । उनले राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए । 

अर्थमन्त्री डा. महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाएका महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्