कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

शुक्रबार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिने बताएका हुन् ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए । उनले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको पनि जानकारी दिए ।

‘‘तपाईँहरूले खेल्नुभएको यो खेलमा तपाईँहरू सबै धन्यवादको पात्र बन्नुभएको छ । सम्पूर्ण विजेता खेलाडीलाई सरकारको तर्फबट तीन–तीन लाख दिने घोषणा गर्दछु । कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु । त्यसका लागि आवश्यक साधन स्रोतको व्यवस्था सरकारकाले गर्नेछ । सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्