ऐतिहासिक जितसँगै नेपाल विश्वकप क्रिकेटमा प्रवेश

बिहीबार, चैत २, २०७९

काठमाडौं–संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि ऐतिहासिक जित निकाल्दै नेपालले विश्वकप छनोटमा प्रवेश गरेको छ ।

नेपालले युएईलाई डिएल मेथडमा ९ रनले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ ।

कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको छ । १७ ओभरको समाप्तीसँगै नेपालले ४ विकेटको क्षतिमा ९९ रन जोडेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो । 

नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो । 

नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ । ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ । 

नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ । पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ । 

सिरिजको पहिलो खेलमा युएईलाई हराउँदै नेपालले आगामी ४ वर्षका लागि ओडिआइ मान्यता जोगाएको थियो ।

योसँगै लिग २ का सबै खेल सकिएका छन् । नेपालले सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:४९
प्रतिक्रिया दिनुहोस्