मुस्ताङका उत्पादनको ‘डिजिटल मार्केटिङ’ गरिने

बुधबार, चैत १, २०७९

पर्वत –अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जान्न पाउँदा मुस्ताङका कृषकहरू उत्साहित भएका छन् । मुस्ताङमा उत्पादन हुने वस्तुबारे थाहा पाएकाहरूले सिधा सम्पर्कबाट वा अन्य माध्यमबाट उत्पादनको खरिद गरिरहेका हुन्छन् ।

तर जसलाई त्यहाँको उत्पादनको बारेमा थाहा छैन, उसले थाहा पाउन पनि सक्दैन । ‘डिजिटल मार्केटिङ’ को समय चलिरहेको भए पनि मुस्ताङका व्यवसायीहरूले ‘अनलाइन मार्केटिङ’ मा खासै रुचि देखाएको पाईँदैन ।

फेसबुक पेजहरू ‘बुस्ट’ गरेर उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादनहरूको प्रचारप्रसार गरेर बजार बलियो बनाउने प्रयास गरिरहेको भए पनि भौगोलिक रूपमा विकट रहेको मुस्ताङका व्यवसायीहरूले इमेल इन्टरनेट तथा सामाजिक सञ्जालहरूमा आफ्ना उत्पादन देखाउँदैनन् ।

फापरको पिठोको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस–मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । ती उत्पादनलाई जिल्लाबाहिर प्रवद्र्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् ।

‘डिजिटल मार्केटिङ’ बारे बुझेपछि उनीहरू त्यसका लागि उत्सुक बनेका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले सहयोग गरेपछि उनीहरूले आफ्ना उत्पादनको निर्यात बढाउन लालायित देखिएका छन् ।

टेवानले आफ्नो ४ दिने कार्यक्रमअन्तर्गत मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान गर्दा मुस्ताङका उत्पादकहरू यसका लागि उत्साहित बनेका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले बताए ।

अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणमा कसरी काम गर्न सकिन्छ भन्ने बारेमा उद्यमीहरूलाई सिकाइएको हो । 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम दिएको हो ।

तालिमसँगको मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पोखरा र मुस्ताङबीचको पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो ।

मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थान विन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताहरूले पर्यटकीय रूपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा आपसमा लाभान्वित हुँदै आएको बताए ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार