१६ टोली थपिएसँगै २०२६ को विश्वकप फुटबल नयाँ ढाँचामा  

बुधबार, चैत १, २०७९

काठमाडौँ– सन् २०२६ को फिफा विश्वकप फुटबलमा थप १६ टोली थपिँदै छन् । यसअघि ३२ टोली रहेकोमा १६ थपिर अब ४८ टोलीले विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको संख्या थपिएसँगै विश्वकपको ढाँचामा पनि परिवर्तन आएको छ ।

२०२६ को विश्वकप धेरै कोणले नयाँ हुने देखिन्छ । पहिलोपटक तीन राष्ट्रले विश्वकप आयोजना गर्न लागेका छन् । 

सो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । यी तीन देशका १६ सहरमा विश्वकप आयोजना हुनेछ ।

फिफाले उक्त विश्वकपमा लागि नयाँ ढाँचा सार्वजनिक गरेको  बनाएको छ । रुवान्डामा हालै आयोजना भएको फिफा काउन्सिलको बैठकले त्यसलाई अनुमोदन गरिसकेको छ ।

नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । यसअघि आठ समूहमात्र हुन्थे । यद्यपि, पहिलेजस्तै हरेक समूहमा ४ टोली हुनेछन् ।

समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने फिफाले जनाएको छ । ३२ वटा टोलीले नकआउटमा स्थान बनाउनेछन् । 

यसैगरी, खेल संख्या पनि बढेको छ । सन् १९९८ मा २४ बाट ३२ टोली पुर्याएयता ६४ खेल हुने गरेका थए । २०२६ को विश्वकप अब ४८ टोली भएपछि कुल १०४ खेल हुनेछन् । 

२०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन् । अरु महादेशबाट पनि कोटा थपिएको छ । 

विश्वकपको सेमिफाइनल र फाइनलसम्म पुग्दा वा जित्दा एउटा टोलीले आठ खेल खेल्नु पर्नेछ । यसअघि सात खेल हुने गर्थे ।

सन् २०२२ मा कतारमा आयोजना भएको पछिल्लो संस्करणकाे विश्वकप अर्जेन्टिनाले जितेको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्