ललित चम्किँदा ७१ रनमै समेटियो युएई, नेपालले जोगायो ओडिआई मान्यता

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाले युएईमाथि १७७ रनको ऐतिहासिक जित हासिल गरेको छ ।

नेपाले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई जम्मा ७१ रनमा समेटिएको हो ।

युएईलाई सस्तैमा समेट्ने क्रममा बलर ललित राजंशीले उत्कृष्ट बलिङ गरे । ७.५ ओभर बलिङ गरेका ललितले २० रन दिँदै ५ विकेट लिए । अर्का बलर सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाको नाममा १/१ विकेट रह्यो ।

नेपाले आज युएईलाई हराएसँगै एक दिवसीय (ओडिआई) मान्यता पनि जोगाएको छ ।

यसअघि नेपालले व्याटिङ गर्दै २४८ रन बनाएको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो ।

नेपालले खराब सुरुवात गरेको थियो । ७.१ ओभरमा नै ३ विकेट गुमाइसकेको थियो । नेपालले १.५ ओभरमै ओपनर आरिफ शेखलाई गुमायो । उनी शून्य रनमा आउट हुँदा नेपालको २ रनमात्र थियो ।

यस्तै, ४.३ ओभरमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । उनी ८ रन बनाउँदै आउट हुँदा नेपालले १२ रन बनाएको थियो । यसैगरी, तेस्रो क्रममा आएका कुशल भुर्तेल पनि ७.१ ओभरमै आउट भए । उनी ९ रन बनाउँदै आउट हुँदा नेपालले २२ रन बनाएको थियो । 

त्यसपछि आएका कप्तान पौडेलले इनिङ्स सम्हाले । उनले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाएपछि नेपाललाई केही राहत भयो ।

छैटौँ क्रममा आएका आरिफ शेखले ४३ रन बनाए । यस्तै, गुल्शन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान दिए । सन्दीप लामिछानेले र सोमपाल कामीले समान २ रन बनाए । 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्