ललित चम्किँदा ७१ रनमै समेटियो युएई, नेपालले जोगायो ओडिआई मान्यता

आइतबार, फागुन २८, २०७९

काठमाडौँ- आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा युएईविरुद्ध नेपालले शानदार जित निकालेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा युनाइटेड अरब इमरेट्स (युएई) लाई १७७ रनले पराजित गर्दै नेपालले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि जोगाएको छ ।

यस जितसँगै नेपाल लिग-२ को शीर्ष ४ मा उक्लिएको छ । नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ । 

आइतबारको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा युएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७१ रन मात्र जोड्न सक्यो । युएईका लागि आयान अफजल खानले २९ रन बनाए ।

नेपालका ललित राजवंशीले ५ तथा सन्दीप लामिछानेले २, गुल्सन झा, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा महत्वपूर्ण ७७ रन बनाए । उनले ९ चौका प्रहार गरे ।

आरिफ शेखले ४३ रन, भिम सार्कीले २९ रन, कुशल मल्लले ९ रन तथा कुशल भुर्तेल ८ रन बनाए । आशिफ शेख शून्य रनमै पभेलियन फर्किए ।

गुल्सन झाले ३७ रन तथा दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । सन्दीप लामिछानेले २ रन जोडे ।

युएईका लागि जावर फरिद, जाहुर खान, रोहन मुस्तफा र आयान अफजल खानले समान २-२ तथा आर्यन लाकरा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्