माघमा ८ प्रतिशतको मूल्यबृद्धि, रेमिट्यान्समा उल्लेख्य प्रगति

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– चालु आर्थिक वर्ष २०७९-८० को ७ महिनामा उपभोक्ता मूल्यबृद्धि ७.८८ प्रतिशत पुगेको छ । पुस महिनाकाे मूल्यबृद्धि ७.२६ प्रतिशत थियो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार माघ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७.८८ छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

यस्तै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९।७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मूल्यबृद्धि छ । २०७८ माघ महिनामा यी क्षेत्रमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मूल्यबृद्धि थियो ।

उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १४.०२ प्रतिशत र ५.४४ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, तलब तथा ज्यालादरतर्फ २०७९ माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ५.७२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको हो ।

बढ्यो रेमिट्यान्स 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २७।१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजार ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई ७५९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्