वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

आइतबार, फागुन २८, २०७९

चितवन- नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी  गरेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो ।

अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिक रूपमा समस्या नआउने बताए । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उनको भनाइ थियो । 

उनले भने, 'कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ ।' लागानीकर्तालाई समेत उनले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गरे । 

नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले आर्थिक मन्दीले वर्तमान अवस्था सिर्जना भएको बताउँदै संघ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताए ।

लघुवित्तले नियमविपरीतका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनले आग्रह गरे ।

लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भन्ने सन्दर्भमा उनले अहिले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गरे ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले संघको सञ्जाल विस्तार गरी गाउँ–ठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताए ।

लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उनले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकाले त्यहाँ छलफल भइरहेको बताए ।

अहिले सदस्यले ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै नेपाल राष्ट्र बैंकले अनुमति दिएको खण्डमा म्याद बढाउने, पुनर्ताजगीकरण एवं नवीकरणका प्रक्रिया अघि बढाउने योजनामा रहेको उनले बताए । 

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिका उपाध्यक्षसमेत रहेकी सामाजिक अभियान्ता एलिमा मियाँ खातुनले ऋण लिएपछि स्वभाविकरूपमा तिर्नुपर्ने बताउँदै लघुवित्तका कमजोरी र कर्मचारीका व्यवहार सच्याउन आग्रह गरिन् ।

यसअघि गत पुसमा लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति भएको उल्लेख गर्दै कतिपय कार्यान्वयनमा पनि आएको उनले बताइन् ।

लघुवित्त संस्थाले नै महिला सशक्तीकरण र आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको बताउँदै दुःख पर्दा संस्थाले पनि सुन्नुपर्ने उनले तर्क गरिन् ।

कार्यक्रममा उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा खत्री, लघुवित्तका ऋणी सदस्यका तर्फबाट हिमादेवी भुसाल भट्टराई, मीना गौतम, कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज सापकोटा र सुवास पोख्रेलले बोलेका थिए ।

सबै जिल्लामा रहेका स्थानीय निकायमा शाखा कार्यालय खोली ६४ लघुवित्त वित्तीय संस्थामार्फत घरदैलोमै वित्तीय सेवा पुर्‍याउँदै आएका छन् ।

६० लाख घरधुरी सदस्यले १३ लाख ६७ समूहमार्फत काम गर्दै आएको संघले जनाएको छ । महिलाको वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको दाबी गर्दै आएको छ ।

संघले हरेक जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरु गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:२६
प्रतिक्रिया दिनुहोस्