मार्टिनेज पेनाल्टीमा चुक्दा तुलनात्मक कमजोर प्रतिद्वन्द्वीसँग इन्टर मिलानको हार

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– विश्वविजेता अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज पेनाल्टीमा चुक्दा इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान पराजित भएको छ ।

गएराति भएको खेलको १४ औँ मिनेटमै मार्टिनेजको पेनाल्टीलाई गोलरक्षक बार्टलोमिज ड्रागोस्कीले बचाएपछि इन्टर तुलनात्मक कमजोर मानिएको स्पेजियासँग २–१ ले पराजित भएको हो ।

घरेलु टोली स्पेजियाको जितमा ड्यानियल माल्दिनी र एमबाला एनजोलाले गोल गरे । इन्टरका रोमेलु लुकाकुले एक गोल फर्काए ।

मार्टिनेजले १४ औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

दोस्रो हाफको सुरुवाती अर्थात् ५५ औँ मिनेटमै माल्दिनीले गोल गर्दै स्पेजियालाई अग्रता दिलाए । त्यसपछि ८३ औँ मिनेटमा लुकाकुलेपेनाल्टीमा गोल गर्दै इन्टरलाई खेलमा फर्काए ।

तर, एनजोलाले ८७ औँ मिनेटमा विजयी गोल गर्न सफल भए । 

यस जितसँगै स्पेजिया २६ खेलबाट २४ अंक जोडेर १७ औँ स्थानमा रहेको छ । जारी लिगमा स्पेजियाको पाँचौ जित हो । 

पराजित इन्टर २६ खेलबाटै ५० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर शीर्ष स्थानको नापोलीसँग १५ अंकले पछि छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्