१२ बुँदे साझा संकल्प जारी गर्दै सकियो सिइओ वर्कसप

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरूको राष्ट्रिय गोष्ठी (सिइओ वर्कसप) १२ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।

२ दिन सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ ।

गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तिहरूको प्रस्तुतीकरण थियो ।

कार्यक्रममा देशभरका करिब ४५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिइओ)को उपस्थिति थियो । गोष्ठीमा सहभागी सिइओहरूले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताव पारित गरे ।

गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरबी गर्ने संकल्प समेत पारित गरेको छ । एकीकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा आबद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सिइओहरूले गरेका छन् ।

त्यस्तै बाध्यकारी नियामकीय प्रबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाएका छन् । जोखिमहरूको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा ५ प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

नेफ्स्कूनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरुले साझा संकल्प वाचन गरेका थिए । साझा संकल्प वाचन गर्दै पनेरुले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्