आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपालद्वारा पिएनजी ५२ रनले पराजित

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई ५२ रनले हराएको छ ।

नेपालले पिएनजीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले आफ्नो एक दिवसीय (ओडिआई) इतिहासमा बनाएको यो सबैभन्दा उच्च योगफल हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

जबाफी ब्याटिङमा उत्रेको पिएनजीले ४७ ओभर १ बलमा मात्र २४५ रन बनाउन सक्यो ।

पिएनजीका लागि टाेनी उराले ५०, आसाद भालाले ४२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले ११० रन बनाए । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए । बलिङतर्फ सेमाे कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए ।

याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । नेपाललाई शीर्ष ३ मा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ ।

त्यस्तै ओडिआई मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पिएनजी छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।

शृङ्खलाकाे अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ । अंक तालिकामा नेपाल ३३ खेलमा ३४ अंकसहित पाँचाैँ स्थानमा छ । पिएनजी ९ अंकसहित तालिकाकाे पुछारमा छ । युएई ३२ खेलमा ३१ अंकसहित छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्