आर्थिक क्षेत्रका विज्ञहरु भन्छन्– खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावना

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरुले बताएका छन् ।

काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टले मंगलबार काठमाडौँमा गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा खुला र उदार अर्थतन्त्रमा मात्रै अवसर र सम्भावनाको विस्तार हुने आर्थिक क्षेत्रका विज्ञहरुले बताएका हुन् ।

विज्ञहरुले सम्मेलनमा अहिलेको विश्वमा सतप्रतिशत आत्मनिर्भरता असम्भव रहेको र यही कारणले गर्दा खुला व्यापारको बिकल्प नरहेको बताए । तर, नेपालले विश्व व्यापार सगठनमा प्रवेश गरेको दुई दशक वित्दा पनि देश थप आयातमुखी हुनुको कारण पहिल्याएर उचित निति लिनुपर्नेमा उनीहरुले जोड दिए ।

‘साउथ एसिया वोर्ड एकेडेमी अफ इन्टरनेशनल विजिनेस्’का अध्यक्ष प्राध्यापक डा. रघुनाथ सुब्रमन्यमले व्यापारमा खुलापनले आफैमा अवसर ल्याउने बताए । सुब्रमन्यमले भने,  ‘यसले प्रतिस्पर्धी क्षमताको विकास, प्रविधिले प्रयोगले उत्पादनमा गुणस्तर बढाउने अवसर दिन्छ ।’

नेपालले आफ्नै स्थायीय स्रोतमा आधारित उत्पादन वढाउनुपर्नेमा उनले जोड दिए । उनका अनुसार व्यापार विविधिकरण तथा निर्यात बढाउने नेपालको लक्ष्य पूरा गर्न नेपालले डिजिटल सेवा, पर्यटन लगायतका क्षेत्रमा काम गर्नसक्छ ।

‘कुनैपनि देशको एउटा निश्चित ब्रान्ड हुन्छ । स्थानीय स्रोतमा आधारित र विश्वबजारमा प्रतिस्पर्धी वस्तु तथा सेवाको पहिचान नेपालले गर्नसक्छ । व्यापार प्रणालीका सुधारसँगै सूचना प्रविधिको प्रयोगले समग्र यी उपलब्धी हासिल हुनसक्छन्,’ सुब्रमन्यमले भने ।

भारत सरकारको पुर्व वाणिज्य सचिव डा.अनुप वाधावनले व्यापारमा जति थोरै नियमन तथा उदार नियम हुन्छ त्यति धेरै अर्थतन्त्रले लाभ पाउने बताए । उनले भने, ‘कुनै पनि देशले खुला व्यापार अपनाउनुको अर्थ विकसित  र प्रतिस्पर्धी अर्थतन्त्रको लाभ लिएर आफूलाई उन्नत बनाउने हो ।’ 

अहिले विश्वमा बहुआयामिक आर्थिक संकटहरू देखिएको तर यो संकट र असरका बाबजुद खुला अर्थतन्त्रमा मात्र सही र सहज समाधान निस्किने उनको भनाई छ ।

उनका अनुसार कारोना महामारी, रुस युक्रेन युद्ध, अमेरिका चीनको व्यापारिक द्वन्द्वका कारण अन्तर्राष्ट्रिय व्यापारमा नयाँ आयामहरू देखिएको र त्यसको प्रभाव समय क्रममा देखिदै जाने छ ।

इन्डियन इन्सिच्युट अफ म्यानेजमेन्ट उदइपुर का विजिनेश पोलिसी एण्ड स्ट्रेटेजीका अनुसन्धान अध्यक्ष एलिजाबेथ लुइज रोजले कुनै पनि अर्थतन्त्रको मुख्य आधार भनेकै साना तथा मझौंला उद्योग हुने वताइन् । अन्तर्राष्ट्रिय व्यापारमा बहुराष्ट्रिय ठूला कम्पनीहरु दृश्यमा वढी आए पनि पनि साना तथा मझौला उद्योग निकै महत्वपूण हुने उनको धारणा थियो ।

‘आफ्नै र सिर्जनशील किसिमको उत्पादन हुने यस्ता उद्योगका विकास निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भनिन । ‘साना तथा मझौला उद्मीहरूका लागि इकोसिस्टम बनाउनुपर्छ र यस्ता उद्यमीलाई दिने सहायताको किफायति बाटो लिनपर्छ ।’

काठमाडौँ विश्वविद्यालयका उपकुलपति भोला थापाले नेपालले व्यापारको क्षेत्रमा निरन्तर धक्का खाँदै आएकोले देशमा उच्च व्यापार घाटा जोखिमपूर्ण रहेको बताए ।

नेपालले अपनाएको अहिलेसम्मका व्यापार नीतिबाट उत्पादन र बजारको खोजीमा असफलता नै धेरै हात लागेको बताए । ‘विश्वविद्यालयका रुपमा हामीले दक्ष जनशक्ति विकासमा काम गरिरहेका छौँ । अझै नयाँ युगको आवश्यकता अनुसार जनशक्ति विकासमा हामीले ध्यान दिइरहेका छौँ,’ उनले भने ।

‘डब्लु टि ओ चेयर्स प्रोगाम’का ‘नलेज म्यानेजमेन्ट डिभिजन’का निर्देशक डा. वेर्नर जेडडौकले सदस्य राष्ट्रहरूको व्यापारिक क्षमता विकासका लागि विश्व व्यापार संगठनले नीति निर्माणमा आवश्यक तथ्यगत अनुसन्धान, नीतिगत समीक्षा, मानव संसाधन विकासमा सहयोग गर्ने बताए ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन तथा डब्लु.टि.ओ. चेयर्स प्रोगाम–नेपालका अध्यक्ष पा.डा.देवीप्रसाद बेडारीले विश्वव्यापीकरण कुनैपनि अर्थतन्त्रका लागि आफैमा राम्रो भएपनि नेपालजस्तो मुलुकका लागि केही चुनौती रहेको बताए ।

‘हामी अझै सिर्जनसील हुन आवश्यक छ किनभने नेपाल पहिले नै औद्योगिककरण कमजोर छ अनि उपयुक्त  शिक्षा तथा तालिम, बजार अनुसारको सीप विकास गर्नुपर्ने जस्ता थुप्रै चुनौति छन्,’ उनले भन, ‘डब्लु टि ओ चेयर्स प्रोगाम अन्तर्गत यस्तै विषयमा प्राज्ञिक तथा व्यवहारिक कामहरू हुनेछ ।’

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार तथा डब्लु टि ओ चेयरस प्रोगामका सहअध्यक्ष प्रा.अच्युत वाग्लेले देशको ८५ प्रतिशत व्यापार दुई छिमेकी भारत र चीनसँग मात्र भइरहेकोले व्यापार विविधिकरणलाई नेपालले प्राथमिकता दिनुपर्ने बताए ।

सन् २००४ मा नेपाल विश्व व्यापर संगठनमा आवद्ध भएपछि निर्यात बढाउन अपनाइएका धेरै नीतिहरु असफल रहेको बताए । यी नीतिहरु उत्पादकत्व बढाउन र व्यापार घटाउन असफल रहेको र यसको लागि प्राज्ञिक र व्यहारिक अनुसन्धान आवश्यक हुने प्रा.अच्युत वाग्लेले बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्