क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पूरा

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– नेपाल एथलेटिक्स एसोसियसनले १६औँ संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

एसोसियसनले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फागुन २३ गते मंगलबार काठमाडौँमा हुने च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगितामा विभिन्न ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सबैभन्दा धेरै नेपालका १९ खेलाडीको सहभागिता रहने एसोसियसनका अध्यक्ष राजीवविक्रम शाहले जानकारी दिए । 

गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष  र महिलातर्फ १० किमी, २० वर्षमुनिको जुनियर पुरुषतर्फ ८ किमी र २० वर्षमुनिको जुनियर महिलातर्फ ६ किमी गरी ४ विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने उनले बताए । 

च्याम्पियनसिपका लागि एसियन एथलेटिक्सका अध्यक्ष जेनेरल दालान अ हमाद पनि नेपाल आएका छन् । पत्रकार सम्मेलनमा हमादले क्रस कन्ट्री च्याम्पियनसिप विश्वकै एक महत्वपूर्ण प्रतियोगिता रहेकाले सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे । 

यो प्रतियोगिता नेपालले दोस्रो पटक आयोजना गर्ने लागेको हो । यसअघि करिब २४ वर्षअघि सन् १९९९ मा यो प्रतियोगिता नेपालले आयोजना गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्