माओवादी घटककाे एक स्वर

संक्रमणकालीन न्यायको मुद्दाले माओवादीलाई जुटाउँदै

फौजदारी अभियोगमा फसाउने डर
सोमबार, फागुन २२, २०७९

काठमाडौं– १ माघ २०७६ को अभिव्यक्तिलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फैजदारी अभियोगमा पक्राउ गर्ने तारतम्य मिलाउन खोजिएपछि विभिन्न समयमा विभाजित भएका माओवादीहरू संक्रमणकालीन मुद्दाबारे भने एकजुट देखिएका छन् । 

प्रचण्डले ३ वर्षअघि खुलामञ्चमा आयोजित एक कार्यक्रममा सशस्त्र युद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा आफूले लिने र बाँकी १२ हजारको जिम्मा भने राज्यले लिनुपर्ने अभिव्यक्ति दिएका थिए । 

प्रचण्डको उक्त अभिव्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्ने भन्दै अधिवक्ताद्वय ज्ञानेन्द्रराज आरण र  कल्याण बुढाथोकीले उनीविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपीठ गरेका थिए । 

सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाइ गर्दै न्यायायाधीशहरू ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले रिट दर्ता गर्न दिनु भन्ने आदेश दिएको थियो ।

द्वन्द्वकालीन मुद्दालाई सर्वोच्च अदालतबाट फौजदारी अभियोग कायम गरेर पक्राउ गर्ने वातावरण बनाउन लागिएको भन्दै राजनीतिकरुपमा विभाजित भएका माओवादीहरू संक्रमणकालिन न्यायको मुद्दामा भने एक स्वर गरिरहेका छन् ।

आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेका माओवादीका विभिन्न घटकका नेताहरूले द्वन्द्वकालका विभिन्न विषयलाई लिएर अपराधीकरण गर्न खोजिएको भन्दै तीतो पोखेका थिए । 

त्यसअघि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले विज्ञप्ति नै प्रकाशन गरेर सत्यनिरुपण तथा वेपत्ता छानबिन आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्ने गरी अधिकारक्षेत्र ग्रहण गर्न, कारबाही अगाडि बढाउन र कुनै निर्णय गर्न नमिल्ने बताएका थिए ।

माओवादी केन्द्र र कम्युनिष्ट विचारधारा नै छाडेर हिडेका डा. बाबुराम भट्टराईले समेत माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हावी भएको दावी गरे । 

उनले भने, ‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ । एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ?’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले भने जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुलाई परास्त गर्ने तागत आफुहरुमा रहेको बताए । 

उनले भने, ‘आज यो सारा माओवादीले बिगा¥यो, भत्कायो, अपराधीहरू, लुटेराहरू, भाषणैपिच्छे । माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ । को हो हत्यारा नेपालमा ? २०० वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन् । हामी अपराधी होइनौँ जुन अपराधी बनाई व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन ।’

माओवादीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा घेराबन्दी गर्न खोजिएको र त्यसलाई परास्त गर्न माओवादी घटकहरु एकजुट हुनुपर्ने उनीहरुले बताएका छन् । 

राजनीतिकरुपमा टुक्रा टुक्रामा विभाजित भएका माओवादीहरु सशस्त्र युद्ध र संक्रमणकालिन न्यायको विषय उठ्नासाथ एक स्वर हुने गरेका छन् । 

डा. भट्टराई भन्छन्, ‘यस्ता मुद्दामा सबै माओवादीहरु एक ठाउँमा उभिनु पर्छ । यी मुद्दामा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक छ ।’

कम्युनिष्ट विचारधारा नै त्यागेका डा. बाबुरा भट्टराईले समेत विभाजित भएका माओवादी घटकहरु एकजुट हुनुपर्ने बताए । हुन पनि माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी एकीकरणको लागि विभिन्न चरणमा छलफल भएको छ । 

‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । समय लाग्छ भने पहिला एउटा मोर्चा बनाऔँ ।’

नेकपाका महासचिव विप्लवले भने माओवादीहरु एकजुट हुने हो भने २०६० को जस्तो माओवादीको शक्ति बनाउन सकिने दावी गरे । अहिले माओवादी घटकहरू विभाजित भएको कारण अरूले माओवादीलाई अपराधी करार गर्न खोजिएको विप्लवले बताए ।  

‘माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ । दोहो¥याउन सकिन्छ, हेक्का राखौँ । हामी एक भएर उठ्यौँ भने ०६० सालको माओवादी ब्युँताउन सकिन्छ’, विप्लवले भने । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘समय आएको छ । फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहकोरुपमा अगाडी आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरुतिर विभाजित जस्तो भयो ।’ 

पूर्व माओवादीहरु एकीकृत हुँदा बन्ने शक्तिलाई कसैले रोक्न नसक्ने प्रचण्डले बताए ।

‘हामी सबैले सबैका अनुभवलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ति सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन’, उनले भने ।

संक्रमणकालिन न्याय र आफुलाई अप्ठ्यारो पर्न सक्ने विषय अगाडि आउँदा एकजुट हुनुपर्ने तर्क गर्ने माओवादी घटकका नेताहरू अरू बेलामा भने राजनीति खिचातानिमै रमाउने गरेका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्