राष्ट्रपति चुनावको प्रचारप्रसार आजबाट निषेध

सामाजिक सञ्जालबाट मत माग्न पनि नपाइने
सोमबार, फागुन २२, २०७९

काठमाडौं– आजबाट राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न नपाइने भएको छ । 

निर्वाचन आयोगले लागू गरेको राष्ट्रपति चुनावको आचार संहितका कारण आज राती १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाइएको हो । 

निर्वाचन आयोगले सोमबार विज्ञप्ति नै प्रकाशन गरेर राष्ट्रपति निर्वाचनको लागि प्रचारप्रसार निषेध गरेको बताएको हो । 

‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

निर्वाचन आयोगकाअनुसार, यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइदैन् । 

उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्नसमेत नपाइने आयोगको विज्ञप्तिमा उल्लेख छ ।  

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न/गराउन आयोगले भनेको छ ।

Election_comission1678079945.jpeg

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्