गाेदावरी हाफ म्याराथनका विजेताले १ लाख पाउने

सोमबार, फागुन २२, २०७९

पाटन– ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ । 

नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिए । कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले एक लाख रुपैयाँ  पुरस्कार हात पार्नेछन् । 

त्यस्तै दोस्रो हुनेले रू ७५ हजार, तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । साथै, चौथो हुनेले  ३० हजार, पाँचौँ हुनेले  २५ हजार, छैटौँले  १५ हजार, सातौँले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

हाफ म्याराथन गोदावरी नगरपालिकाबाट सुरु भइ झरुवारासी पोखरीचौर-बडिखेल चोक-टौखेल चोक–गोदावरी बसपार्क-विशङ्खुनारायण– २ कार्यालय-बाँडेगाउँ प्रहरी प्रभाग–भट्टराई आश्रम १३ नम्बर कार्यालय–भलि पुचः पार्टी प्यालेस–ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ । 

त्यस्तै १० किमी अन्तरविद्यालय दौड प्रतियोगितामा प्रथम हुनेले नगर ३५ हजार पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रोले  ३० हजार, तेस्रोले २५ हजार, चौथोले २० हजार, पाँचौँले १५ हजार, छैटौँले रू १० हजार, सातौँले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

अन्तरविद्यालय दौड प्रतियोगिता गोदावरी नगरपालिकाबाट सुरु भएर बडिखेल चोक-टौखेल चोक–भट्टराई आश्रम-वडा नं १३ कार्यालय–भलि पुचः पार्टी प्यालेस–ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकीबाट चापागाउँ ट्याक्सी पार्क हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ । 

हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ । 

नगरप्रमुख महर्जनले परिणामका लागि काम हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नागरिकको आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्दै छ वर्ष पूरा भएको बताए । ‘मेरो दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षमा हामीले शिक्षा र स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘शैक्षिक बेरोजगारको व्यवस्थापनसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले स्वयंसेवक शिक्षकको व्यवस्था गरेका छौँ ।’

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार