प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्याउन खोजियो : डा. भट्टराई

आइतबार, फागुन २१, २०७९

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा  लगाएर माओवादीलाई जिस्क्याउन खोजेको टिप्पणी गरेका छन् ।

आईतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । 

३ वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए । 

उनले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाए । 

‘माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ?’, भट्टराईले भने ।

यसको बिरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको भट्टराईले बताए । ‘यस्ता मुद्दामा सबै माओवादीहरु एक ठाउँमा उभिनु पर्छ । यी मुद्दामा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक छ’, उनले भने । 

‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ’, भट्टराइले भने, ‘त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ ।’

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्