प्रचण्डको अभिव्यक्तिविरूद्ध मुद्दा दर्ता गर्न सर्वोच्चले दिएको आदेशप्रति माओवादीको असन्तुष्टि

आइतबार, फागुन २१, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले द्वन्द्वकालका विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेको छ । 

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सत्य निरुपण तथा वेपत्ता आयोगको क्षेत्रधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएका छन् । 

द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फैजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले असन्तुष्टि जनाएको हो । 

‘संविधान प्रदत्त वाक स्वतन्त्रताको उपभोग गरी अमुक सार्वजनिक कार्यक्रममा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तलाई कारबाहीको विषय बनाइनुपर्छ भनी कलुषित पुर्वग्राही भावनाले ग्रसित भइ दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्तविपरित र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको ठाडै प्रतिकुल भएको सम्बद्ध निकायहरुलाई अवगत गराउन चाहन्छौं’, गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

केही वर्षअघि टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । 

त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्र राज आरण लगायत रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) आदेश गरेको थियो ।

‘सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगको अधिकारक्षेत्र भित्रका विषयहरुलाई प्रतिकूल असर पर्ने गरी अधिकारक्षेत्र ग्रहण गर्न, कारबाही अगाडी बढाउन र कुनै निर्णय गर्न नमिल्नेस्मरण सहित सचेत गराउन चाहन्छौं’, माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यस्ताे छ विज्ञप्ति- 

Maoist_pressrelease1678002691.jpg

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्