जोगियो सुदूरपश्चिमका मुख्यमन्त्रीको पद

आइतबार, फागुन २१, २०७९

कैलाली–अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पछि नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएपछि पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने भएको हो । माओवादी केन्द्रले विश्वासको मत दिने भएपछि मुख्यमनत्री शाहको पद जोगिएको छ ।

माओवादीको सुदूरपश्चिम संसदीय दलले शनिबार केन्द्रलाई पत्र लेखेर विश्वासको मत दिनेबारे पार्टी हाइकमाण्डको प्रतिक्रिया मागेको थियो । त्यसपछि आइतबार माओवादीका अध्यक्ष प्रचण्डले ८ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम दलका नेता खगराज भट्टले विश्वासको मत दिन निर्देशन आएको र भागवण्डा र पावर सेयरिङको विषय पनि माथिबाट नै टुंगो लागेको बताए ।

अध्यक्ष प्रचण्डको निर्देशनपछि पार्टीका बैठकले आपचाकिर निर्णय गर्र्दैछ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ । पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरूले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने जानकारी दिए ।

माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबारस विश्वासको मत लिँदै छन् ।

केन्द्रमा ८ दलबीच नयाँ समीकरण बनेसँगै विश्वासको मत पाउन मुख्यमन्त्री शाह ढुक्क थिए ।

गठबन्धनका दलहरू नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र १ स्वतन्त्र प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिने छन् ।

यसअघि नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले पावर सेयरिङना सम्मानजनक स्थानको माग गर्दै मत दिन आनाकानी गरिरहेको र्थिए ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमालेका राजेन्द्र सिंह रावल विश्वासको मत नपाउँदा २९ दिनमै पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा कांग्रेसका शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्दछ ।

कांग्रेसका १९, माओवादीका ११ (सभामुखबाहेक), नागरिक उन्मुक्तिका ७ र  एकीकृत समाजवादीका ४ सहित ४१ सांसद नयाँ गठबन्धनसँग छन् । प्रदेश सभामा नेकपा एमालेका १० (उपसभामुख), राप्रपा र स्वतन्त्र १–१ सांसद छन् । ८ दलीय गठबन्धनमा सहभागी दलसहित एक स्वतन्त्र प्रदेश सभा सदस्यले मत दिँदा मुख्यमन्त्री शाहले ४१ मत पाउनेछन् । जो प्रदेश सभाको दुईतिहाइ मत हो ।

२०७४  निर्वाचनको कार्यकालमा ५ वर्षसम्म स्थायी तवरले चलेको सुदूरपश्चिम सरकार यसपटक भने सबैभन्दा पहिले फेरिएको हो ।

एमालेले मत नदिने

नेकपा एमालेले  मुख्यमन्त्री  शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरेन्द्र पालले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्