सहकारीका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री राई 

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । 

आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौँमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याको पहिचान गरी समाधानका लागि सरकार सकारात्मक रहेको बताए ।

सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्मासी गर्ने सहकारीहरूको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई उनले निर्देशन दिए । उनले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजीकरण गर्न तयार रहेको जनाए । 

मन्त्री राईले सहकारीहरूले विधिविधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए । उनले ३० हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमासी नगरेको पनि दाबी गरे । 

त्यस्तै, मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले बचतकर्ताको बचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए ।

सहकारी क्षेत्रमा देखिएका विकृति र बचतकर्ताको बचत सुरक्षाका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको बताउँदै उनले सहकारी विभाग, समस्याग्रस्त सहकारी विकास समिति, राष्ट्रिय सहकारी महासंघ, सहकारीका प्रदेश जिल्ला र विषयगत संघलाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिएको जनाए । 

उनले अहिलेसम्म बचतकर्ताले मागदाबी गरेको १ अर्ब ४४ करोड रकममध्ये ४० करोड रकम फिर्ता गरिसकेको बताए । समस्याग्रस्त सहकारीका हजारभन्दा बढी स्रेस्ता माग गरी अनुसन्धान भइरहेको तथा १ सयभन्दा बढी चल–अचल सम्पत्ति रोक्का राखी सञ्चालकको राहदानी, बैंक खाता र विदेश जान रोक्का गरिएको बताए ।

उनले कानुनको परिपालना नगर्ने र बचतकर्ताको बचत सुरक्षा नगर्ने सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट कारबाही गर्ने बताए ।

सचिव रेग्मीले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानुनको दायरामा ल्याउनु आवश्यक रहेको बताए ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार