नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने ८ दलबीच सहमति

शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ –नेपाली कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतीय निर्वाचनमा समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । 
बालुवाटारमा शुक्रबार साँझ बसेको ८ दलको बैठकमा उनीहरूबीच राष्ट्रपतिको चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको कांग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव गरेका थिए ।

दलहरूले आ–आफ्नो दाबी पेश गरे पनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन ८ दल एक भएको खडाकाले बताए ।

यस्तै, एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको बताए । ज्वालाले उपराष्ट्रपतिको उम्मेदवारबारे कुनै छलफल नभएको बताए । 

अब राष्ट्रपतिको उम्मेदवार कांग्रेसले तय गर्ने छ । कांग्रेसले शनिबार कार्यसम्पादन बैठक बसेर राष्ट्रपतिको उम्मेदवार तय गर्ने छ। राष्ट्रपतिका लागि रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रमुख आकांक्षी रहेका छन्।

बैठकमा सहभागी नेपाली कांग्रेससहित, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नेताहरूको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १९:३५
प्रतिक्रिया दिनुहोस्