२३ औं संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकप भोलिदेखि

शुक्रबार, फागुन १२, २०७९

धरान –मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं संस्करण शनिबारदेखि सुरु हुदैछ । 

एक सातासम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युके एफसी भारतबीच हुनेछ । प्रतियोगितामा केबीपीएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटीसी झापा, एन्फा मोरङ र आयोजक धरान फुटबल क्लब गरी ८ वटा टिमको सहभागिता छ । 

उद्घाटन समारोहलाई भव्य बनाउन ब्रिटिश गोर्खा ब्रिगेड ब्याण्डको ९० जनाको टोलीले प्रस्तुति दिनेछ ।

यस वर्ष पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूका सबै जानकारी उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

खेल हेर्न आउने ६५ वर्ष उमेर माथिकालाई नागरिकता देखाए निःशुल्क प्रवेश गर्न दिने र अपांग बालबालिकालाई पनि निःशुल्क प्रवेश गर्न दिइने छ ।

प्रतियोगिताको फाइनल फागुन २० गते हुनेछ । विजेता टोलीले ट्रफीसहित नगद १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ दिइने छ । विगतमा उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउँदै आएका थिए । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ भने प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । 

२०५५ सालदेखि सुरु भएको गोल्ड कप पहिलो पटक लगातार २ वर्ष रोकिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्