पर्यटकीय गन्तव्य बन्दै बाँगेकोट

शुक्रबार, फागुन १२, २०७९

पोखरा– सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट ८ किलोमिटरको दुरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो ।

प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्छ । नेपालका बाइसे–चौबिसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो । 

प्रकृति र संस्कृतिले विविधतापूर्ण यो स्थल हिमाली एवं पहाडी दृश्यावलोकनका लागि महत्वपूर्ण रहेको स्थानीय पूर्णवीर गुरुङ बताउँछन् । 

फेदीखोला गाउँपालिका–५ मा रहेको यस स्थल पुग्न विभिन्न मार्ग प्रयोगल गर्न सकिन्छ । खड्केटारी पञ्चासे ग्रामीण सडकको छेउमा बाँगे मैदान पुग्नुअघि बाँगेकोट छ ।

बाँगे गाउँमा रहेको रंगुवा, बाँगेथुम कालाभैरवलाई प्राचीनकालदेखि बाँगेकोटका रूपमा लिने गरिएको हो । 

कोटको दक्षिण भागका रंगुवावासीले यसलाई रंगुवाकोट भन्छन् । पूर्वी भाग भाटखोला, आरुखर्क र फेदीखोलाका बासिन्दाले बाँगेकोट नै भन्दै  आएको बाँगे पोखरा सामुदायिक मिलन चौतारीका कोषाध्यक्ष एवं बृहत् फेदीखोला पोखरा सम्पर्क समाजका सदस्य राजकुमार क्षेत्रीले बताए ।

उत्तर–पश्चिम भागका बाँगे, बाङ्सिङ, सरादीसम्मका बासिन्दाले पनि यसलाई बाँगेकोट नै भन्ने गरेका छन् । बाँगेकोट नजिकैको घिमिरे गाउँ यहाँको प्राचीन बस्ती हो । 

परापूर्वकालदेख नै सुरक्षाका दृष्टिले अग्लो पर्खालले घेरिएको यस कोटको बीचमा भैरवस्थान र पुजारी घर छ भने पर्खाल बाहिर बलि दिने मौलो छ । यो कोट आरुखर्कका रजौटाले बनाएको भन्ने किंवदन्ती छ ।

प्राचीनकालमा आफ्नो भरणपोषणका लागि माना चामल र बिर्ता जग्गाका मोहीबाट उठेको रकम बुझाउन जम्मा हुने यो ठाउँबाट कटुवालले खबर प्रसारण गर्ने (घोक हाल्ने) र ज्योतिषीले भविष्यवाणी गर्ने गरेको बूढापाका बताउँछन् । 

वर्षको २ पटक बडादसैँ र चैतेदसैँमा धूमधामसँग पूजा जात्रा हुने यस कोटमा रंगुवा, बाँगे र भाटखोलाका तालुकदार मुखियाबाट बलि दिने पाठो, रागो र माना घिउ ल्याउने प्रचलन थियो । पहिले–पहिले नुवाकोट कालाभैरव मन्दिरमा झैँ रंगुवा बाँगेथुम कालाभैरव स्थानमा पनि तिमल्सिना थरका बाहुन पुजारी राख्ने प्रचलन रहेकामा अहिले भने दुवै स्थानमा पुजारी यही थरको हुनुपर्ने भन्ने कुनै अनिवार्य छैन । 

दसैँको फूलपातीमा रंगुवाली तिमल्सिनाका घरबाट फूलपाती, आरुखर्के रजौटाका दरबारबाट दहीको ठेकी लगिने चलन रहेकामा फूलपाती यथावत नै ल्याइने चलन छ ।

प्रत्येक जातजातिका भूमिका रहने गरेको यहाँ नवमीका दिनमा अरियाँले दमाईबाट बाजागाजा, रंगुवाली विश्वकर्माबाट हातहतियारमा साँध लगाउने तथा स्थानीय सार्कीबाट बलिको राँगो लैजाने, सफा गर्ने चलन थियो । पछिल्लो समयमा सबै मिलेर कोटको संरक्षण र रेखदेख गर्ने गरेका छन् ।

बाँगेकोटमा हाल नवनिर्मित मन्दिर, भवन तथा पर्खाल एवं घना रूख छन्, बिर्ताप्रथाको उन्मूलन र तालुकदार परम्पराको खारेजी भएपछि अक्षयकोष स्थापनाबाट पनि यस कोटको विकासमा योगदान पुगेको छ ।

कोटमा रहेका पुराना खुँडा र खुकुरीले यहाँको प्राचीनतालाई झल्काउने गरेको छ । धार्मिक, प्राकृतिक र पर्यटकीय आकर्षणको केन्द्र बाँगेकोटको विकासलाई फेदीखोला गाउँपालिकाले प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । 

‘हामीले गाउँपालिकाभित्रका धार्मिक एवं ऐतिहासिक स्थललाई संरक्षण र विकाससँगै प्रवद्र्धन गर्ने गरेका छौँ,’ उनले भने, ‘बाँगेकोटको इतिहास तथा महत्वलाई जीवन्त राख्न गाउँपालिकाको स्थानीय पाठ्यक्रममा पनि यस स्थललाई समेटिएको छ ।’

२०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको पुरातत्व विभागको सहयोगमा निर्माण भइरहेको छ । बाँगेकोटको महत्वलाई उजागर गर्न स्थानीय युवाको सक्रियतामा पर्यटनसम्बद्ध संघसंस्थाका प्रवद्र्धनात्मक कार्यक्रम जारी छन् ।

हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आगामी फागुन २७ गते बाँगेकोटमा हाइकिङ गराउन लागेको उक्त संस्थाका संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्