राष्ट्रपतिका उम्मेदवार बढाउँदै दलहरु, अहिलेसम्म नाघिसके १ दर्जन

एसडी मुनीका ४, ओलीका ९ उम्मेदवार
बिहीबार, फागुन ११, २०७९

काठमाडौँ– राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु राष्ट्रपतिको उम्मेदवार संख्या बढाइरहेका छन् । दल र त्यसका नेताहरुले औपचारिक तथा अनौपचारिक छलफलहरु विभिन्न व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाएका हुन् ।

निर्वाचन आयोगले आगमी फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ । सो निर्वाचनको लागि फागुन १३ गते मनोनय दर्ताको कार्यक्रम छ । मनोनयन दर्ता हुनुअघिसम्म नेताहरुले विभिन्न व्यक्ति तथा नेताहरुलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने गरेका छन् ।

अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिदैछ । सोही कारण नयाँ राष्ट्रपति निर्वाचन हुन लागेको हो ।

नयाँ राष्ट्रपतिको लागि सुरुमा खिलाराज रेग्मीको नाम आएको थियो । उनी सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष हुन् । उनी अध्यक्ष रहेको मन्त्रिपरिषदले दोस्रो संविधानसभाको निर्वाचन गराएको थियो । सोही संविधानसभाबाट अहिले कार्यान्वयनमा रहेको संविधान निर्माण भएको हो । रेग्मी प्रधानन्यायाधीश रहेकै समयमा मन्त्रिपरिषदको अध्यक्ष भएका थिए ।

रेग्मी लगत्तै नयाँ राष्ट्रपतिका अनुराधा कोइरालाको नाम चर्चामा आएको थियो । उनी समाजसेवी तथा महिला अधिकारकर्मी हुन् । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने भन्दै कोइरालाको नाम चर्चामा ल्याइएको थियो ।

लगत्तै नयाँ राष्ट्रपतिमा कल्याण श्रेष्ठको नाम वहसमा आएको थियो । उनी पनि सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुन् । उनलाई पनि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने भन्दै राष्ट्रपतिको सम्भावित उम्मेदवार भनिएको थियो ।

नयाँ राष्ट्रपतिको लागि सबैभन्दा बढी उम्मेदवार खडा गर्ने व्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुन् । पुस १० गते बनेको सत्ता गठबन्धनमा एमालेको भागमा राष्ट्रपति परेको एमाले नेताहरुको दाबी छ । अध्यक्ष ओलीले पनि सोही कुरा बताइरहेका छन् । तर, उनले आफ्नै पार्टीका पनि विभिन्न व्यक्तिहरुको बारेमा चर्चा चलाएका थिए ।

एमालेबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चा भएका एमाले नेताहरुमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, सचिव छविलाल विश्वकर्मा, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, उपाध्यक्ष सुवाशचन्द नेम्बाङ, शिवमाया तुम्बाहम्फे, उपमहासचिव विष्णु रिमाल छन् । पछिल्लो समय एमाले अध्यक्ष ओली नै राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना रहेको हल्ला पनि चल्न थालेको छ ।

पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिएका थिए । सो समयमा नेपाली काँग्रेस लगायतका दलहरुले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए । त्यसपछि भने माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एमालेलाई राष्ट्रपति दिनुको साटो राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताउन थालेका थिए ।

प्रधानमन्त्री प्रचण्डले एमालेलाई राष्ट्रपति दिन नसकिने बताउन थालेपछि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका नेता अमिक शेरचनलाई नयाँ राष्ट्रपति प्रस्ताव गरेका थिए । यस्तै, पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि एमाले अध्यक्ष ओलीको तर्फबाट राष्ट्रपतिको नयाँ उम्मेदवार बनेका छन् । 

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो दलका नेता महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन पहल नै थालिसकेको छ । 

यस्तै, राष्ट्रपति पद लिएरै छोड्ने रणनीतिमा रहेको नेपाली काँग्रेसका भने तीन जना नेता राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चामा आइसकेका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसा सिटौला राष्ट्रपतिको उम्मेदवारको रुपमा चर्चामा आएका नेता हुन् । यस्तै पछिल्लो समय काँग्रेस सभापति शेरबहादुर देउवा पनि नयाँ राष्ट्रपतिको उम्मेदवार बन्नसक्ने हल्ला चलेको छ ।

नेपाल सम्बन्धी जानकार भारतीय बुद्धीजिवी एसडी मुनीले नयाँ राष्ट्रपतिको लागि ४ जनाको नाम सिफारिस गरेका छन् । उनले सिफारिस गरेका उम्मेदवारहरुमा अनुराधा कोइराला, प्राडा लोकराज बराल, दमननाथ ढुंगाना र डा. देवेन्द्रराज पाण्डे हुन् । कोइराला समाजसेवी तथा महिला अधिकारकर्मी हुन् भने प्राध्यापक बराल भारतका लागि पूर्व नेपाली राजदुत पनि हुन् । यस्तै, ढुंगाना पूर्व सभामुख हुन भने डा. पाण्डे पूर्वमन्त्री हुन् ।

नयाँ राष्ट्रपतिको लागि राजनीतिक दलहरु आआफ्नै रणनीतिमा छन् । आफ्नो हात माथि पर्ने गरी नयाँ राष्ट्रपति बनाउने अभियानमा लागेका दलहरुबीच नयाँ राष्ट्रपति चयनको लागि सहमतीको प्रष्ट खाका अझै देखिएको छैन । नयाँ राष्ट्रपतिको लागि शनिवार मात्रै मनोनय हुने भएकोले योबीचमा दलहरुले अझै धेरै उम्मेदवार बनाउन सक्ने सम्भावना पनि देखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्