माओवादीको विश्लेषणः माधव नेपाल राष्ट्रपति भए प्रचण्ड सरकारको आयु जेठसम्म

प्रचण्ड चाहन्छन्– सके देउवा, नसके ओली राष्ट्रपति बनून्
बुधबार, फागुन १०, २०७९

काठमाडौँ– प्रमुख दलहरुको सत्ता दाउपेचले राष्ट्रपति निर्वाचन थप पेचिलो बनेको छ । आलंकारिक पद भएपनि राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताएर सत्ताको बागडोर नियन्त्रणमा प्रमुख दलहरु लाग्दा राष्ट्रपति निर्वाचन थप पेचिलो बनेको हो ।

संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले उम्मेदवार खडा गरेर निर्वाचित गर्न चाहेको छ । यस्तै, दोस्रो ठूलो दल नेकपा एमालेले पनि आफ्नो उम्मेदवारलाई नयाँ राष्ट्रपति बनाउन चाहेको छ । काँग्रेस र एमालेको यो रणनीति कार्यान्वयन हुनको लागि निार्णायक देखिएको नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमतिको राष्ट्रपति भन्दै बेग्लै खालको रणनीतिमा लागेको छ । 

माओवादी भने काँग्रेस र एमालेबीचको यही रस्साकस्सीमा आफूले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने अवसर निर्माणको पहलमा छ ।

प्रमुख दलहरुको यही राजनीतिक तानातानको कारण राष्ट्रपति निर्वाचन थप पेचिलो बनेको हो । नेकपा एमालेले पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरिरहेको छ । तर, पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने बेलामा नेपाली काँग्रेसले पनि मत दिएको थियो । त्यसैले काँग्रेसको पनि सहमतिमा राष्ट्रपति चयन गरौं भन्ने प्रस्ताव प्रधानन्त्री प्रचण्डको छ । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीलाई राष्ट्रपति दिन आनाकानी गरेको बुझेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने संकेत गरेका थिए । अध्यक्ष ओलीले नेपाललाई ‘पार्टी विलय गरे सोच्न सकिने’ बताएका थिए ।

नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्दा नेपाली काँग्रेस र माओवादी केन्द्र समस्यामा पर्न सक्ने ओलीको विश्लेषण थियो । किनभने नेपाली काँग्रेस र नेकपा एसले सत्तारुढ गठबन्धनप्रति समान धारणा बनाएका छन् । यस्तै, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र पनि नेकपा एसप्रति सकारात्मक रहेको बताइन्छ ।

तर, ओलीले नेपाललाई राष्ट्रपति बनाउन गरेको संकेतपछि सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र भने एमालेसँग अझै झस्किएको छ । 

‘नेकपा एसलाई एमालेमा विलय गराउने शर्तमा माधव नेपाललाई राष्ट्रपति बनाउने ओलीको प्रस्ताव देखिन्छ, यसको अन्तर्य के हो भने नेकपा एस मिलेपछि एमाले सबैभन्दा ठूलो दल बन्ने र अहिलेको सरकारलाई जेठभरमा विदा गरेर ओली प्रधानमन्त्री बनिहाल्ने रणनीति हो,’ माओवादी केन्द्रका एक नेताले सिएन नेपालसँग भने ।

अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार निर्माण भएको हो । सो धारा अनुसारका प्रधानमन्त्री पदबाट हटेपछि र सो धारा अनुसार नयाँ सरकार बन्न नसक्ने अवस्था आएपछि संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ ।

‘नेकपा एसलाई विलय गराएर नेकपा एमालेलाई संसदको सबैभन्दा ठूलो दल बनाउने, त्यसपछि जेठ १५ मा सरकारले ल्याएको बजेट पास नगरेर सरकार हटाउने र ठूलो दलको नेताको हैसियतमा ओली प्रधानमन्त्री बन्ने उनको रोडम्याप देखिन्छ, त्यसैले नेपाललाई राष्ट्रपति बनाउने ओलीको चालप्रति विशेष चनाखो हुन जरुरी छ,’ ती नेताले भने ।

बजेट पारित गर्ने बेलामा नेपाली काँग्रेसले यो सरकार बचाइदिने सम्भावना कम हुने उनले बताए ।

‘काँग्रेसले राष्ट्रपति पाउने आशमा पुस २६ गते विश्वासको मत दिएको हो, राष्ट्रपति पनि नपाउने, सभामुख पनि नपाउने, प्रधानमन्त्री पनि नपाउने, प्रदेशमा पनि केही नपाउने भएपछि काँग्रेसले यो सरकारलाई किन बोकिरहन्छ ? त्यो बेलामा (बजेट पारित गर्ने बेलामा) काँग्रेस विपक्षमा बस्छ, एमालेले भोट दिदैन अनि हाम्रो सरकार ढल्छ,’ ती नेताले भने ।

प्रचण्डको चाहनाः सके देउवा, नसके ओली राष्ट्रपति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट नेताहरु भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नै राष्ट्रपतिको उम्मेदवार भए उचित हुने बताउन थालेका छन् । देउवा राष्ट्रपति बने प्रचण्डलाई ४ वर्ष नै सरकार चलाउन सहज हुने र राष्ट्रिय अन्तराष्ट्रिय परिवेश सन्तुलित राख्न पनि सहज हुने उनीहरुको विश्लेषण छ ।

यस्तै, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका युवा नेताहरु पनि देउवालाई राष्ट्रपति बनाउने गृहकार्यमा जुटेका छन् । रामचन्द्र पौडेलभन्दा पनि देउवालाई नै राष्ट्रपति बनाउन सके राजनीतिमा पुस्तान्तरण सहज हुने युवा नेताहरुको विश्लेषण छ ।

यस्तै, माओवादीले एमालेबाट ओली नै राष्ट्रपतिको उम्मेदवार बनेर आए सोच्न सकिने सन्देश प्रचण्ड निकट नेताहरुले ओली निवास बालकोट पुर्याएका स्रोतको दाबी छ ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १९:०४
प्रतिक्रिया दिनुहोस्