लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ : अर्थमन्त्री पौडेल

बुधबार, फागुन १०, २०७९

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरूलाई प्रतित्रिक्रया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानका लागि गम्भीर रूपमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताए ।

उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णय समेत भइसकेको बताउँदै लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरूले काम थालनी गरेको बताए । 

उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।

उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजना अघि बढाएको पनि बताए ।

अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताउँदै उनले सरकार उत्पादनका सबै क्षेत्र, निजी क्षेत्रका सरोकार र समस्याहरूलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको जनाए । 

अर्थमन्त्री पौडेलले राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताए ।
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १७:०५
प्रतिक्रिया दिनुहोस्