भैँसीपालन व्यवस्थित गर्न गुल्मीमा राँगाको तथ्यांक संकलन 

बुधबार, फागुन १०, २०७९

रेसुंगा– गुल्मीमा राँगाको तथ्यांक संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्यांक संकलन गर्न लागिएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ । राँगा पाल्ने तीन किसानलाई तीन हजार रुपैयाँसहित सम्मानसमेत गरिएको खनालले बताए । ‘राँगाको यथेष्ट तथ्यांक संकलन गरी योजना बनाउँदै छौँ,’ उनले भने ।

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन, भैँसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्यांक संकलन गर्न लागिएको बताए । ‘राँगाको नश्ल सुधारको योजना छ,’ उनले भने । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ । राँगाको तथ्यांक संकलन गरी बीमासमेत गाउँपालिकाले गर्ने योजना बनाएको छ । पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्यांक अभिलेख गर्ने गाउँपालिकाको तयारी छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्