तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– तनहुँको बन्दीपुर गाउँपालिका- ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो ।

यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइन ट्यापिङ गरिएको छ ।

प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका- ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन पनि निर्माण सम्पन्न भएको छ । यसमध्ये १ हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’मार्फत् निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेसन सोमबार चार्ज गरिएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किमी ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन् ।

सराङघाट सबस्टेसनमा ६-८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका ३ वटा फिडर लाइन निकालिएको छ ।

सबस्टेसनमार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति हुनेछ । यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाउनेछन् ।

दुइटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग-वाइबा इन्फ्राटेक जेभीसँग २०७५ साल मंसिरमा ठेक्का सम्झौता भएको थियो ।

ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कार्य चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार