सीमा कटेदेखि नै शोषणमा महिला

तस्करको बारेमा मुख खोल्दैनन् पीडित
सोमबार, फागुन १, २०७९

काठमाडौँ– गत साता रोजगारीका लागि इथियोपिया पठाइदिने भन्दै तस्करले भारतको जयपुर पुर्‍याइएका १२ महिलाको उद्धार गरी स्वदेश फर्काइयो ।

ती १२ जनाको समूहमा गोरखागाउँ पालुङटारकी ३६ वर्षीय मनिता जैसी (नाम परिवर्तन) पनि थिइन् । उनलाई इथियोपियाको पर्यटन क्षेत्रमा रोजगारी दिलाउने प्रलोभन देखाएर नेपालबाट १ महिनाअघि एजेन्टले भारतको जयपुर पुर्‍याएका थिए । 

मनिता काठमाडौँस्थित गौशालाको एक निजी विद्यालयमा सरसफाइको काम गर्दै आएकी थिइन् । त्यही स्कुलमा काम गर्ने क्रममा चिनजान भएका काभ्रेका विक्रम मगर नाम गरेका एजेन्टमार्फत उनी रोजगारीका लागि इथियोपिया जाने भन्दै भारतको जयपुर पुगेकी थिइन् । 

देशभित्र बाँच्न सक्ने रोजगारी नपाएपछि एजेन्टको लहैलहैमा लागेर वैदेशिक रोजगारीमा जान खोज्दा समस्यामा परेको उनी गुनासो गर्छिन् ।

नेपालबाट एजेन्टले इथियोपियाको पर्यटन क्षेत्रमा काम लगाइदिने भन्दै भारत पुर्‍याएर अलपत्र पारेपछि स्वदेश फर्किएर मगरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिन आएको मनिताले सिएन नेपाललाई जानकारी दिइन् । 

वीरगन्ज नाका हुँदै भारतको जयपुर पुग्न ११ दिन लागेको उनले बताइन् । ‘नेपालको सीमा नाघेपछि एजेन्टले मनमा जे लाग्यो त्यही गरे । हामीसँग सहनुभन्दा अन्य केही उपाय थिएन । एकातिर एजेन्टालाई चर्को रकम तिरेर गएका कारण केही बोल्ने अवस्था भएन,’ उनले भनिन्, ‘एजेन्टले भारत पुगेपछि २–४ दिन किन यत्तिकै बस्छौ भनेर यौन व्यापारमा लाग्न बाध्य बनाए । त्यहाँ पुगेपछि नेपाली महिलाको केही लाग्दैन । सहरभन्दा बाहिरका बस्तीमा लगेर राख्छन् ।’ 

विदेशमा गएर पनि यही काम गर्ने हो भन्दै एजेन्टले शारीरिक शोषण गर्ने गरेको उनको भनाइ छ ।

रोजगारीमा अन्य देश लैजाने भन्दै भारत पुर्‍याइएका महिलालाई एजेन्टले नै ग्राहक खोजेर होटलमा पुर्‍याउँछन् । उनीहरूले भनेजस्तो नमान्ने महिलालाई मार्ने धम्की दिएर यौन पेसामा लगाउने गरेको मनिताले सुनाइन् ।

मनिताले एजेन्ट मगरलाई इथियोपियाको रोजगारीमा जान भनेर १ लाख २५ हजार रूपैयाँ नगद दिएकी थिइन् । भारतको जयपुरमा ३३ दिन होटलमा काम गरेको आफ्नो ज्यालासमेत एजेन्टले खाएको उनले बताइन् ।

मनिता नेपालमा मासिक १२ हजार रुपैयाँ कमाउँदै आएकी थिइन् । त्यो पैसाले आफ्नो ज्यान पाल्न नै समस्या भएपछि वैदेशिक रोजगारीको प्रलोभनमा पर्दा आर्थिक ठगीमा परेको मनिता बताउँछिन् ।

राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भनेर एजेन्टको प्रलोभनमा परेर इथियोपिया हिँडेकी मनितालाई एजेन्टले भारतको बिहारस्थित मित्या गाउँमा रहेको मामाको घर हिँडेको भन्न लगाएर वीरगन्ज नाका कटाएका थिए । 

‘बाटैपिच्छे एजेन्ट परिवर्तन हुन्छ । उनीहरू रोजगारीमा हिँँडेका महिलालाई फोनसमेत चलाउन नदिई नियन्त्रणमा राख्छन्,’ उनले भनिन्, ‘एजेन्टले जता भन्छन्, त्यतै जानुपर्छ । नत्र कुटपिट गर्न पनि पछि पर्दैनन् । हामीलाई कहाँ लगेको भनेर सोध्दा ‘यस्तो गर्न’ (यौनजन्य शब्द) भनेर जबाफ दिन्छन् ।’

भारतमा प्रायः नेपाली एजेन्ट नै हुने गरेको उनको भनाइ छ । उनीहरूले नेपालको सिमानाबाट मान्छे ओसार्ने काम मात्र गर्ने गरेको उनी बताउँछिन् ।

रोजगारीका लागि तेस्रो देश हिँडेका धेरै महिला भारतमा अलपत्र परेर बसेका छन् । उनीहरूको पैसा एजेन्टले खाएका कारण समस्यामा परेर बस्नुपरेको जयपुरमा भेटिएका धेरै महिलाले बताएको मनिताले जानकारी दिइन् । 

बोल्दैनन् पीडित महिला 

नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा १२ महिलाको उद्धार गरेर गत बिहीबार स्वदेश फर्काइयो । उद्धार गरिएका महिलालाई भिजिट भिसामा दुबई हुँदै इथियोपिया पठाउने भन्दै पुस र माघ महिनामा राजस्थानको जयपुर पुर्‍याइएको माइती नेपालले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवातीलाई भारत हुँदै तेस्रो देश लैजाने क्रम बढेको छ । रोजगारीको खोजीमा जाने प्रायः महिला अशिक्षित, गरिब र वैदेशिक रोजगारीबारे केही जानकारी नै नभएकाहरू हुने गरेको माइती नेपालकी कानुनी सल्लाहकार उमा तामाङ बताउँछिन् । 

रोजगारीको खोजीमा विभिन्न देश पुगेका नेपाली कामदारकै सम्पर्कमा धेरै महिला व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विदेशमा कार्यरत कतिपय नेपालीले नै आफ्ना सम्पर्कमा रहेका दिदी–बहिनीलाई राम्रो काम छ भनेर तस्करको सम्पर्कमा पुर्‍याउँदा उनीहरू आर्थिकसँगै शारीरिक शोषणमा पर्ने गरेको उनले बताइन् ।

‘उद्धार गरी स्वदेश फर्काइएका पीडित महिलाले प्रहरी र सम्बन्धित पक्षलाई दिएको बयानमा तस्कारीका बारेमा खुलाउँदैन् । परिवारमा समस्या हुन्छ भन्दै तस्करीका बारेमा उनीहरू नबोल्दा दोषीले उन्मुक्ति पाइरहेका छन्,’ उनले भनिन् । 

वैदेशिक रोजगारीका नाममा भइरहेको तस्करीका सबै घटना बाहिर नआउने गरेको र आएका घटना सामान्य मात्र हुने गरेको उनको भनाइ छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्यांकअनुसार वार्षिक १ हजारभन्दा धेरै महिला रोजगारीको प्रलोभनमा परेर भारत हुँदै अन्य देश जान खोज्दा भारतका विभिन्न सहरमा समस्यामा पर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा भारतलगायत अन्य देशबाट मन्त्रालयले करिब ९०० जनाको उद्धार गरी स्वदेश फर्काएको थियो । उद्धार गरिएका अधिकांश महिला भएको मन्त्रालयले जनाएको छ । 

मानव तस्करले नेपाली युवतीलाई आकर्षक रोजगारीका लागि भन्दै खाडी देश, अफ्रिका र मलेसियालगायत अन्य देश पुर्‍याएर जबरजस्ती देहव्यापारमा फसाउने गरेको मन्त्रालयकै तथ्यांकमा उल्लेख छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार