मिटरब्याज र महँगीविरुद्ध आन्दोलन गर्दै विप्लव माओवादी

बुधबार, माघ २५, २०७९

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)ले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध गर्ने जानकारी दिए ।

उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए । पार्टीले संसद्मा रहेका र नरहेका विभिन्न कम्युनिस्ट पार्टी साथै राजनीतिक दलहरूबीच रूपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको उनको भनाइ छ ।

आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको जनाउँदै उनले पार्टीले एमसिसी, एनसिएल, एसपिपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणविरुद्ध संघर्ष गर्ने बताए ।

जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने पार्टीले निर्णय गरेको छ । राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्ने उसको माग छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तविरुद्ध र फागुन १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने पार्टीले जनाएको छ । 

३ बुँदे सहमतिअनुसार पार्टीका नेता कार्यकर्ता रिहा नभएको भन्दै उनले अहिले पनि ४० जना नेता÷कार्यकर्ता विभिन्न जेलमा रहेको जानकारी दिए । सहमतिअनुसार अबिलम्ब उनीहरूलाई रिहा गर्नुपर्ने पार्टीको माग छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्