टर्की भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७ हजार ७ सय भन्दा बढी 

बुधबार, माघ २५, २०७९

काठमाडाैँ– टर्की र सिरियामा गएको ७.८ म्याग्निच्युडको भूकम्प र पराकम्पनका कारण भत्किएका भवनबाट थप शव निकालिएपछि मृत्यु हुनेको संख्या ७ हजार ७०० नाघेकाे छ ।

भूकम्पका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । हजारौँ भवनको भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न उद्धारकर्मीहरू काम गरिरहेका छन् । संसारभरका देशहरूले उद्धार र राहत कार्यमा मद्दत गर्न टोली पठाएका छन्।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले सोमबारको भूकम्पपछि टर्कीमा कम्तीमा ५ हजार ८९४ जनाको ज्यान गएको र ३४ हजार ८१० जना घाइते भएको बताएका छन् ।

उनले टर्कीमा मात्रै भवनको भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसलाई बाहिर निकालेको र करिब ३ लाख ८० हजारले सरकारी आश्रयस्थल वा होटलमा शरण लिएको बताए ।

सिएनएनका अनुसार सिरियामा कम्तीमा १ हजार ८३२ जनाको मृत्यु भएको छ भने ३ हजार ८४९ जना घाइते भएका छन् ।

टर्कीको प्रकोप व्यवस्थापन एजेन्सीले घटनास्थलमा २४ हजार ४०० भन्दा बढी आपत्‌कालीन कामदार रहेको बताएको छ । 

तिनीहरूको प्रयास एकदमै कम साबित भइरहेको छ, सोमबारको भूकम्पले ठुलो क्षेत्रलाई असर गरेको छ र टर्कीमा मात्रै लगभग ६ हजार भवन ध्वस्त भएको पुष्टि भएको छ।

बाँचेकाहरूसम्म पुग्ने प्रयासलाई शून्यभन्दा कम तापक्रम र झन्डै २०० भूकम्पका परकम्पहरूले पनि बाधा पुर्‍याएको छ, जसले गर्दा अस्थिर संरचनामा मानिसको खोजी गर्न जोखिम बढेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०७:५७
प्रतिक्रिया दिनुहोस्