पुस महिनाको मूल्यबृद्धिः रक्सीभन्दा गाडीभाडा महंगो

सोमबार, माघ २३, २०७९

काठमाडौँ– गएको पुस महिना नेपालीका लागि निकै महंगो भएको छ । गत वर्षको तुलनामा यस वर्षको पुस महिना ७.२६ प्रतिशतले महंगो भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको पुस महिना ७.२६ प्रतिशतले महंगो भएको देखाएको हो । अर्थात पोहोरको पुसमा १ सय रुपैयाँमा चल्ने दैनिकीको लागि यसपाली १०७ रुपैयाँ २६ पैसा तिर्नु परेको छ ।

गत आर्थिक वर्षको पुस महिनामा यस्तो मूल्यबृद्धि ५.६५ प्रतिशत थियो । 

यसपालीको पुस महिना नेपालीका लागि खानपान भन्दा पनि अन्य खर्चका हिसावले बढी महंगो देखिएको छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृछि ५.६२ प्रतिशत छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ८.५७ प्रतिशत छ । 

सो महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक मूल्यबृद्धि १५.५६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यस्तै, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले मूल्य बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्य बृद्धि १६.४३ प्रतिशत छ । यस्तै, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३३ प्रतिशतले मूल्य बढेको छ । 

यो तथ्यांकले मदिराजन्य वस्तुको तुलनामा यातायात खर्च बढी महंगो भएको देखाएको हो ।

यस्तै, पुस महिनाको मूल्यबृद्धि काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत छ । २०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मूल्यबृद्धि थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्