भोजपुर रंगशालाको निर्माण ९८ प्रतिशत सकियो

आइतबार, माघ १५, २०७९

भोजपुर– भोजपुर अन्तर्राष्ट्रिय रंगशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ । कोदारमा २०७६ साल कात्तिकबाट निर्माण सुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ । 

कार्यालयका प्रमुख सुरेश शाहले रंगशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताए । प्रदेश १ सरकारको १४ करोड ५ लाख रुपैयाँ लागतमा रंगशाला निर्माण गरिएको हो । 

७ हजार वर्गमिटरको रंगशालामा ५ हजार मानिस अट्न सक्ने गरी ७ वटा प्याराफिट निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ १०२ मिटर लम्बाइ र पश्चिमतर्फ १०५ मिटर लम्बाइ छ । 

निर्माणाधीन रंगशालामा प्याराफिट, कभर्ड हल, रिटेनिङ वाल, कार्यालय तथा क्यान्टिन भवन, शौचालयलगायत पूर्वाधारको काम सम्पन्न भइसकेको निर्माण कम्पनी रायमाझी, मार्सेली निर्माण जेभीले जानकारी दिएको छ ।

सम्झौता अनुसारको सम्पूर्ण संरचना तयार गरेर हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताए । उनका अनुसार यो महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिनेछ ।

२०६४ सालमा जिल्ला विकास समिति बोर्डले ५५ लाख रुपैयाँमा जिल्ला खेलकुद परिषद्मार्फत् रंगशालाका लागि जग्गा खरिद गरेको थियो । जिविसले केही रकम छुट्याएर स्तरोन्नतिको काम थाले पनि बजेट अभावका कारण रोकिएको थियो ।

प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा शिलान्यास गरेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’को निर्माण तीव्र गतिमा भइरहेको गाउँपालिकाले जनाएको छ  । गाउँपालिकाको ५५ लाख र प्रदेश १ सरकारको १ करोड ३५ लाख रुपैयाँ लगानीमा सो रंगशाला निर्माण भइरहेको छ । 

यस्तै प्रदेश सरकारको योजनाअन्तर्गत ६ करोड लागतमा षडानन्द नगरपालिकामा पनि दिङ्ला रंगशाला निर्माण भइरहेको छ । साथै प्रदेश १ सरकारको ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान, २५ लाखमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रंगशाला निर्माण भइरहेको छ ।

पछिल्लो समय जिल्लामा धमाधम खेलकुद संरचना बनेपछि  खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन् । अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणले भोजपुरवासीमा उत्साह थपेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्