टाइगर कप भलिबलमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा

बुधबार, माघ ११, २०७९

काठमाडौँ –पोखरामा जारी टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ ।

बुधबार भएको राउन्ड रोबिन लिगको अन्तिम दुई खेलमा न्यु डायमन्ड युथ स्पोर्ट्स र सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भए । योसँगै महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको हो ।

पहिलो खेलमा न्यु डायमन्डले आयोजक गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । डायमन्डले पहिलो सेट १९–२५ ले गुमाएको थियो । तर, त्यसपछिका लगातार तीन सेट जित्दै डायमन्डले खेल आफ्नो पक्षमा पा¥यो । डायमन्डले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१५, २५–१४ र २५–११ को स्कोरमा हरायो ।

जितसँगै न्यु डायमन्ड राउन्ड रोबिनका तीन खेलमा तीन अंक जोड्दै तेस्रो स्थानमा रह्यो । तीनै खेलमा पराजित गण्डकी अंकविहीन रह्यो । दुवै टोलीले यसअघि त्रिभुवन आर्मी क्लब र एपीएफसँग पराजय व्यहोरेका थिए ।

लिगका सबै खेलमा हार व्यहोरे पनि महिलातर्फ चार टोलीको मात्र सहभगिता रहेकाले गण्डकीले पनि सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलमा न्यु डायमन्डले आर्मीसँग खेल्नेछ । 

यस्तै बुधबारै भएको दोस्रो खेलमा आर्मी एपीएफसँग पराजित भयो । तालिकाको दोस्रो स्थानमा रहँदै आर्मीले सेमिफाइनलमा डायमन्डलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।

एपीएफले आर्मीलाई ३–१ को सेटमा हरायो । आर्मीविरुद्ध एपीएफले २५–१७, २२–२५, २५–१६ र २५–१५ को स्कोरमा जित निकाल्यो । लिगको शीर्ष स्थानमा रहेको एपीएफले अब फाइनल प्रवेशका लागि पुछारको गण्डकी प्रदेशविरुद्ध खेल्नेछ । दुवै सेमिफाइनल खेलहरू बिहीबार हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्