नेपाल टी–२० लिगकाे पहिलाे खेलमा काठमाडौँ नाइट्स विजयी

शनिबार, पुस ९, २०७९

काठमाडौँ– नेपाल टी–२० लिगकाे उद्घाटन खेलमा काठमाडौँ नाइट्स विजयी भएको छ । पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाडौँ नाइट्सले विजयी सुरुआत गरेको छ ।

 

त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १३६रन मात्रै बनायो ।

 

पोखराका ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए । उनले ३४ बलमा ६ चौका प्रहार गरे । आरिफ शेख २० रन, अमिर हम्जा र अभिमन्यू मिथुन समान १८ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

काठमाडौँको बलिङमा अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रनको योगफल तयार गरेको थियो ।

 

काठमाडौँको ब्याटिङमा ओमारजाईले सर्वाधिक ८५ रनको योगदान गरे । उनले ४२ रनमा ७ छक्का र ३ चौका प्रहार गरे । ८.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको काठमाडौँका लागि ओमारजाईले सुनम गौतमसँग ११४ रनको साझेदारी गरे । सुनम २८ बलमा २ चौकासहित २७ रनमा अविजित रहे ।

 

ओपनर सान्तोष कार्की ३ रनमा आउट हुँदा वीरन्दीप सिंहले १० रन जोडे । कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा पभेलियन फर्किएका थिए । एलेक्स ब्लेक २१ रन र लोकेश बम ४ रनमा आउट भए ।

 

पोखराको बलिङमा प्रतिस जिसी र जाहिर खानले समान २ विकेट लिए भने मौसम ढकालले १ विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड भिड्दै छन् ।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्