नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि सर्यो

बिहीबार, पुस ७, २०७९

काठमाडौँ- नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ ।

 

यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन् । उनले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताए । उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मङ्सिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो ।

 

यसैगरी, क्यानले नेपाल टी ट्वान्टी लिग प्रतियोगिताको निर्देशकमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ । 

 

कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहनेछ । काठमाडौँ नाइट, पोखरा एभेत्रस, फार वेस्ट्रन युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले प्रतियोगितमा भाग लिनेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्