साउदीको रियादमा क्रिस्टियानो रोनाल्डो

बिहीबार, पुस ७, २०७९

काठमाडौँ– पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको रियाद पुगेका छन् ।

 

साउदी अरेबियाको क्लब अल नसरमा सम्भावित अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो रियाद पुगेका हुन् । ३७ वर्षीय रोनाल्डोलाई अल नसरले कीर्तिमानी मूल्यको अफर गरेको छ । नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको हो । म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो क्लब विहीन रहेका छन् ।


रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको थियो । फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको अल नासर क्लबले मात्र सम्झौताका लागि प्रस्ताव गरेको स्पेनी सञ्चारमाध्यमले खबर दिएको छ ।

 

खेल पत्रिका याजका अनुसार, रोनाल्डो अहिले अबु धाबीमा छन् र उनलाई साउदीको क्लबबाट मात्र सम्झौताको औपचारिक प्रस्ताव आएको छ । पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डो विश्वकपअघि म्यानचेस्ट युनाइटेडबाट बिदा भएका थिए ।

 

आफ्ना चिर प्रतिद्वन्द्वी लियोनल मेसीले अर्जेन्टिनाका लागि विश्वकप जितेपछि रोनाल्डो क्लब स्तरमा थप उपलब्धि हासिल गर्न आतुर छन् । साउदीको क्लब अल नासरले रोनाल्डोलाई वर्षको २१ करोड २० लाख डलर दिने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ७, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्