नाल्डोलाई भित्र्याउन प्रयास गरेको बासिल बोलीकाे खुलासा

बुधबार, पुस ६, २०७९

काठमाडौँ – फ्रेन्च क्लब मार्सेका लेजेण्ड बासिल बोलीले मार्सेले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन प्रयास गरेको खुलासा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बोलीले रोनाल्डोलाई भित्र्याउन मार्सेले प्रयास गरेको खुलासा गरेका हुन्।

 

एनडब्ल्यु स्पोर्टसँगको कुराकानीका क्रममा बोलीले रोनाल्डोसँग मार्सेले छलफल गरेको बताए। दुई पक्ष बिचको छलफलले के निष्कर्ष निकाल्यो भन्ने बारे भने उनले केही बताएनन्। सो कुराकानीका क्रममा उनले रोनाल्डो मार्से आउँदा राम्रो हुने बताउन भने छुटाएनन्।

 

बोलीका अनुसार अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जस्तै फ्रान्समा आफूलाई स्थापित गर्न सक्छन्। त्यस क्रममा उनले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको पहिलो वर्ष राम्रो गर्न नसके पनि दोस्रो वर्षमा मेस्सीले राम्रो गर्न सकेको उल्लेख गरे।

 

“क्रिस्टियानो रोनाल्डो मार्सेसँग वार्तामा थिए। उनी मार्से आए राम्रो हुन्छ भन्ने मलाई लाग्छ। उनी एक प्रतिभाशाली खेलाडी हुन्। अलिकति बूढो भए पनि उनले केही समय अझै राम्रो खेल्न सक्छन्। फ्रेन्च लिग उनका लागि धेरै राम्रो हुन सक्छ। फ्रेन्च लिग मेस्सीका लागि पनि ठिक देखियो। पहिलो सिजन राम्रो गर्न नसके पनि दोस्रो सिजनमा मेस्सीले राम्रो खेल्न थालिसकेका छन्।”,बोलीले भने।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्