‘आहारारा पोखरा गोल्डकप’मा १० टिमले भाग लिने, पुरस्कार राशी बढ्यो

मंगलबार, पुस ५, २०७९

पोखरा–पोखरामा आयोजना हुने एकमात्र अन्तराष्ट्रियस्तरको फुटबल प्रतियोगिता  ‘आहारारा पोखरा’ गोल्डकपको २२ औं संस्करणमा खेल्ने एक विदेशी क्लबसहित १० टिमले भाग लिने भएका छन् ।

 

प्रतियोगितामा एपीएफ क्लब, मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बीवाईएससी, मछिन्द्र, नेपाल पुलिस क्लब, संकटा, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

क्लबका अनुसार प्रतियोगिता पुस १४ गतेबाट २३ गतेसम्म पोखरा रंगशालास्थित फुटबल स्टेडियममा हुनेछ । पुस १२ गतेबाट सुरु गर्ने समय तालिका सार्वजनिक गरे पनि १३ गते मैत्रीपूर्ण खेल भएका कारण २ दिनपछि सरेको क्लबले जनाएको छ । १३ गते स्पेनको बी डिभिजनस्तरीय क्लब काथेरेन्यो र गण्डकी ११ बीच पोखरा रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।

 

आयोजक सहाराले यसै संस्करणदेखि प्रतियोगिताको नाम परिवर्तन गरेर  ‘आहारारा पोखरा गोल्डकप’ राखेको छ । यसअघिको २१ औं संस्करण प्रतियोगिता विभागीय टोली एपीएफले जितेको थियो भने मनाङ मर्स्याङ्दी क्लब उपविजेता बनेको थियो ।

 

आयोजक सहारा क्लबले नाम परिवर्तनसँगै आहारारा पोखरा गोल्डकपको पुरस्कार राशीसमेत बढाएको छ ।

 

क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार आहारारा पोखरा गोल्डकप विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । अघिल्ला संस्करणभन्दा प्रथम पुरस्कारमा २ लाख र दोस्रोमा एक लाख रुपैयाँ वृद्धि गरेको हो । प्रतियोगिताबाछ बचत भएको रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्