कर्णाली र भेरी करिडोर स्तरोन्नतिका लागि पाँच अर्ब छुट्याइने

शुक्रबार, पुस १, २०७९

मुगु-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीन जोड्ने कर्णाली र भेरी करिडोरलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । 

 

मुगुको गमगढीमा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याउने तयारी भइरहेको बताए । चालू आर्थिक वर्षमा कर्णाली करिडोरका लागि रु तीन अर्ब र भेरी करिडोरका लागि रु दुई अर्ब छुट्याइने उनले बताए । दुवै करिडोर कर्णालीको विकास र समृद्धिका आधार भएकाले प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीको भनाइ थियो । 

 

साविकको कर्णालीलाई विकास पूर्वाधार निर्माणमा छुट्टै नीतिको खाँचो आवश्यक रहेको उनले बताए । “हुम्लामा अझै सडक पुगेको छैन, डोल्पा र मुगुको अवस्था पनि उस्तै छ”, मुख्यमन्त्री शाहीले भने, “सुर्खेतलाई हेरेर छुट्याइने बजेटले कर्णालीमा पूर्वाधार निर्माण गर्न समस्या भइरहेको छ, प्रदेश सरकारले दुर्गम क्षेत्र लक्षित गरेर नीति ल्याउने तयारी गरिरहेको छ ।”

 

मुख्यमन्त्री शाहीले असारको अन्तिम समयमा भुक्तानी गर्ने परिपाटीले समस्या भएको उल्लेख गर्दै यसबारे आवश्यक छानविन गरिने बताए । रासस

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २२:४३
प्रतिक्रिया दिनुहोस्