ग्वार्को चोकमा फ्लाइओभरको काम सुरु, ट्राफिक व्यवस्थापनमा कठिनाई

शुक्रबार, मंसिर २३, २०७९


काठमाडौँ– ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माणको काम आज शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार विहान ६ बजेदेखि निर्माण सुरु गर्न सो चोकमा अहिलेभन्दा फरक किसिमले ट्राफिक व्यवस्थापन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

 

निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइने छ । साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सबै सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाउने व्यवस्था गरिने छ ।

 

‘बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारी साधनलाइ फास्ट ट्रयाकबाट सञ्चालन गरिने छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ । ग्वार्को चोकमा ओभरफ्लाईको काम सुरु गर्न थाल्दा यतिबेला उपत्यकामा ट्राफिक व्यवस्थापनलाई ट्राफिक प्रहरीलाई निकै चुनौतीपूर्ण बनेको छ ।

 

अहिले त्यसआसका क्षेत्रका मुख्य सडकमा सवारी जाम छ । ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आहृवान गरेको ठेक्कामा सहभागी ९ मध्ये ८ वटाले आर्थिक प्रतिस्पर्धा गर्दा आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपेयाँमा ठेक्का पाएको हुन् । आशिष समानान्तर रेलिगेयर जेभीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्