भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासङ्घको ध्यानाकर्षण

बिहीबार, मंसिर २२, २०७९

काठमाडौँ– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले माग गरेको छ । लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महाङ्घले आज पत्रकार सम्मेलन गरी भाडादर तत्काल फिर्ताको माग राख्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।


     
निर्यात प्रवद्र्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले उद्योग नै चल्न नसक्ने गरी भाडा वृद्धि गरेको महासङ्घको ठहर छ । महाङ्घको सहमतिविपरीत २०७५ सालमै सञ्चालक समितिले सात सय प्रतिशतसम्म भाडा बढाएको र अहिले सो कार्यान्वयन गर्ने भन्दै २०७९ साउन २ मा भाडा वृद्धिको लाखौँको बिल उद्योगमा पठाएको भन्दै महासङ्घले विरोध गरेको छ ।


     
महासङ्घका अध्यक्ष रामहिरा पाठकले बैंकलाई ब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउनसमेत समस्यामा रहेका व्यवसायीलाई भार पर्नेगरी भाडा वृद्धि गरिएको बताए । उनले एकैपटक सात सय प्रतिशतले भाडा वृद्धि गर्ने कार्य नियमसम्मत नभएको जिकिर गर्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरे ।


     
अध्यक्ष पाठकका अनुसार २०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर पाँच÷पाँच वर्षमा भाडा वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो ।  विसं २०७२/२०७४ मा १५/१५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको र २०७५ सालमा एकैपटक सात सय प्रतिशतले वृद्धि गरिनु नियमसम्मत नभएको व्यवसायीको बुझाइ छ । उद्योगीले उठाएका माग सम्बोधन नगरेका खण्डमा पहिलो चरणबद्ध सङ्घर्षमा उत्रन बाध्य हुने महासङ्घका पूर्वध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । नेपालमा हाल १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा छन् । ती क्षेत्रमा सञ्चालित करिब सात सय ५० उद्योगबाट विभिन्न शीर्षकमा वार्षिक रु ५५ अर्ब हाराहारी राजस्व बुझाउने गरिएको महासङ्घको दाबी छ ।

 

 आग्रहलाई बेवास्ता गरे पहिलो चरणमा मंसिर २५ गतेदेखि भाडा वृद्धि फिर्ता गर्न मागसहितको कालो ब्यानर तथा कालो झण्डा प्रदर्शन गर्ने, लिमिटेडलाई भाडा, शुक्ल आदि रकम भुक्तानी नगर्ने र महाप्रबन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा सांकेतिकरुपमा एकदिने तालाबन्दी गर्ने चेतावनी दिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्