शुक्रबारदेखि मेलम्चीको पानी उपत्यकाबासीका धारामा पठाइने

बिहीबार, मंसिर २२, २०७९

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले शुक्रबारदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको केयूकेएलले जानकारी दिएको छ । भोलि चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु हुनेछ र बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ ।

 

“अहिले ट्यांकीमा पानी आइरहेको छ । भोलि बिहानदेखि वितरण थाल्छौँ । अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुन्छ,” केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले भने । केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ ।

 

केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्