विश्व कप फुटबलमा आज फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दै

आइतबार, मंसिर १८, २०७९

काठमाडौँ–कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा आइतबार दुई वटा खेल हुँदैछन् । साविक विजेता फ्रान्स र पोल्यान्ड तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन् । 


अल थुमामा मैदानमा हुने पहिलो खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन् । यस्तै, दोस्रो खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ । 


फ्रान्स समूह ‘डी’ को विजेता र पोल्यान्ड समूह ‘सी’ को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेको हो । इङ्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यी खेलबाट विजयी हुने टोली क्वाटर फाइनलमा पुग्नेछन् । 


यसअघि शनिबार राति भएको खेलमा विजयी भएका अर्जेन्टिना र नेदरल्यान्ड्स क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् । अर्जेन्टिनाले अस्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा पुगेको हो ।  

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्